
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गर्न लागेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।
यो शेयर छिटोमा भदौ ४ गतेभित्र बिक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्मको मिति कम्पनीले तय गरेको छ । यो शेयर खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ्ग डबर बी माइनर रेटिङ्ग प्रदान गरेको छ ।
यस पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लाग प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ ।
सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ भने उक्त अवधिसम्म कम्पनी १० लाख नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस