
काठमाडौं । बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब १० गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा बिहीवार साझ ५ बजेसम्म ५ लाख ८ हजार ७८२ जनाबाट रू. ७१ करोड ६४ लाख ३३ हजार बराबरको आवेदन परेको छ । जुन मागभन्दा १० दशगुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।
मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले यो आईपीओ छिटोमा साउन १८ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।
यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।
यस कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्नपी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस