aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भदौ १ गतेदेखि आईपीओ बिक्री गर्दै न्यादी हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
भदौ १ गतेदेखि आईपीओ बिक्री गर्दै न्यादी हाइड्रोपावर

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो । 

कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।  

बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि विक्री गर्नेछ । यो आईपीओ छिटोमा भदौ १५ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ३० गतेसम्म विक्रीमा हुनेछ ।  

यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ ।  

हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । बाँकी २७ प्रतिशत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस