
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडलले साउन १३ गतेदेखि २० गतेसम्म अवितरित हकप्रदका लागि आव्हान गरेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिहान ९ः ३० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, हात्तिसार मार्ग, कमलादी काठमाडौंमा बोलपत्र खोल्ने कार्यक्रम रहेको हो ।
कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता अवितरित हकप्रद शेयर विक्रीको लागि वोलपत्र आव्हान गरेको थियो । यस अघि जेठ २० गतेदेखि असार १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गरेको हो ।
कम्पनीले शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी प्राप्त बोलपत्र योग्य भएका छन् । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ । अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो ।
उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । गत वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस