
काठमाडौं । प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडले केहि दिनभित्र आईपीओ बिक्री खुला गर्ने भएका हुन् ।
कुन कम्पनीको कति ?
मानुषी लघुवित्त
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३६ प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।
यो आइपीओ खरिदका लागि साउन ३१ गते सम्म आवेदन गर्न सकिनेछ । सो समय अवधिमा विक्री नभएमा ढिलोमा भदौ ९ गते सम्म विक्रीमा रहने कम्पनीको भनाई छ । प्राथमिक बजारमा निष्कासन हुने आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको सन्दर्भमा भने कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
यो आइपीओ निष्कासन गर्नका लागि बैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले बोर्डबाट असार ३१ गते स्वीकृती पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहे्को छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबा स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर सफ्टवेयर र एपबा पनि आइपीओमा आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यस कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६९ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ करोड ४७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा भदौ १४ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । स्थानिय बासिन्दाहरुले आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरुको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस ग्रेडिङ्ग प्रदान गरेको छ । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।
साहस उर्जा लिमिटेड
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लाग निर्माण अवधिको व्याज सहित रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । यस आयोजनाबाट २०७९ साल जेठ २० गतेदेखि विद्युत उत्पादन हुने सम्भावना रहेको छ ।
न्यादी हाइड्रोपावर लिमिटेड
न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि विक्री गर्नेछ । यो आईपीओ छिटोमा भदौ १५ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ३० गतेसम्म विक्रीमा हुनेछ ।
यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ ।
हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । बाँकी २७ प्रतिशत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस