
काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले गत वर्ष रू. २२ करोड ५९ लाख ४२ हजार खुद नाफा गरेको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा ५ दशमलव ३९ प्रतिशत बढी भएको हो । अघिल्लो वर्षभन्दा गत वर्ष १२ दशमलव ५८ प्रतिशत बढी रू. ३० करोड ३ लाख ६७ हजार कुल आम्दानी गरेको कम्पनीले ४१ दशमलव ९९ प्रतिशत बढी कुल खर्च गरेको छ । अघिल्लो वर्ष रू. ५ करोड २४ लाख १६ हजार कुल खर्च गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ४४ लाख २५ हजार खर्च गरेको हो ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम पनि ८८ दशमलव ८० प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ३९ करोड ४९ लाख १६ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष रू. ६ अर्ब ४० करोड ९७ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेको हो ।
कुल दाबी भुक्तानी रकम भने अघिल्लो वर्षभन्दा १४७ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३ हजार २०७ जनालाई रू. ३० करोड ३९ लाख ८७ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष ८ हजार ६४ जनालाई रू. ७५ करोड ५ लाख १८ हजार बराबरको रकम दाबी भुक्तानी गरेको हो ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेको यस कम्पनीले सर्वसाधारणमा प्रिमियम सहित आईपीओ जारी गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ११२ प्रिमियम मूल्य सहित प्रतिकित्ता रू. २१२ का दरले सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्रीका लागि साउन १२ गते बोर्डमा निवेदन दर्ता गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३१ दशमलव ७६ प्रतिशत बृद्धि भई रू. ८४ करोड ३५ लाख ४१ हजार कायम भएको छ ।
जीवन बीमा कोष रकम पनि अघिल्लो वर्षभन्दा १२० दशमलव ८९ प्रतिशत बढेर रू. २ अर्ब ५८ करोड ५१ लाख ५४ हजार कायम भएको छ । कम्पनीले गत वर्ष बीमालेख धितोमा अघिल्लो वर्षभन्दा ४५६ दशमलव ५८ प्रतिशत बढी रू. ६ करोड २८ लाख ८८ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ९६ छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ८२ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस