
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गतेदेखि २४ गतेसम्म विक्री गरेको आईपीओ साउन ३० गते शनिवार बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले शनिवार ११ बजे आफ्नै कार्यालय दरबारमार्ग, काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी गरेको हो ।
यस कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताको शेयर माग भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीले भने सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता शेयर विक्री गरेको हो । कल ६० लाख कित्ता शेयरमध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । कम्पनीको आईपीओ भाग्य मानी ५ लाख ४० हजार आवेदकहरुले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।
हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७६÷७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।
प्रतिक्रिया दिनुहोस