aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिशहोमको आईपीओ बुक बिल्डिङ मार्फत जारी हुन्छ, कुनै हालतमा रोकिंदैन : प्रबन्ध निर्देशक आचार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
डिशहोमको आईपीओ बुक बिल्डिङ मार्फत जारी हुन्छ, कुनै हालतमा रोकिंदैन : प्रबन्ध निर्देशक आचार्य

काठमाडौं । डिशहोमले अबको अढाई महिनाभित्र बुक बिल्डिङ मार्फत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । डिश होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले आउँदो अक्टोबर महिनाभित्र आईपीओ जारी गर्ने तयारी गरेको बताएका हुन् ।  

नेपाल धितोपत्र बोर्डले आईपीओ जारीका लागि स्वीकृति दिइसकेको भएको भए पनि बुक बिल्डिङ मार्फत नै आईपीओ जारी गर्ने तयारीका कारण केही ढिलाइ भएको उनले बताए । उनले भने, ‘हामीले लाभांश नबाँडेको निकै नै भइसक्यो । जसले गर्दा बुक बिल्डिङमै जाँदा ठिक हुने निष्कर्षमा पुगेका छौँ ।’ 

आचार्यका अनुसार विगत लामो समयदेखि लाभांश वितरण नगरेका कारण ठुलो रकम कोषमा जम्मा भएको छ । त्यसको हकदार हाल कायम रहेका शेयर धनीहरू नै हुन् । उनीहरूलाई न्याय गर्न पनि बुक बिल्डिङमा जानुपर्ने निष्कर्षमा डिश होम पुगेको हो ।  

विदेशी लगानीकर्ता समेत रहेको हुनाले निकै ठुलो कसरत पछि मात्र साधारण शेयर निष्कासनको चरणमा डिश होम पुगेको उनले बताए । जुनसुकै हालतमा डिश होमको साधारण शेयर निष्कासन हुने अवस्था सिर्जना भएको पनि उनले जानकारी गराए ।  

आचार्यले भने, ‘अब कुनै प्रश्न चिन्ह छैन । अहिलेसम्म यति धेरै लगानी गरेर स्थापित गरेको संस्थाको एक सय रुपैयाँ मै शेयर निष्कासित गर्ने त ? भन्ने प्रश्न लगानीकर्ताहरूमा थियो । तर, बुक बिल्डिङमा जाने भएपछि त्यसको पनि जवाफ मिल्यो ।’ 

कोरोना महामारीका कारण समेत साधारण शेयर निष्कासनमा ढिलाइ भइरहेको बेला बुक बिल्डिङमा जाँदा सबैको हित हुने ठहरमा पुगेको समेत उनले बताए । टेलिभिजन सेवा प्रदायकबाट अब डिश होम इन्टरनेट सेवा प्रदायकका रूपमा समेत विकसित भइसकेको हुँदा बुक बिल्डिङको चरणमा समेत राम्रै मूल्य प्राप्त हुने उनको अपेक्षा छ ।   

अहिले डिश होमले टेलिभिजनसँगै फाइबर लाइन पुगिसकेका प्रमुख सहरहरूमा निशुल्करुपमा इन्टरनेट सेवा समेत उपलब्ध गराइरहेको छ । आफ्ना ग्राहकहरूलाई ‘कम्बो प्याक’का रूपमा हाल उपलब्ध गराइरहेको त्यस्तो सेवा चाडै नै स्याटलाइट मार्फत ग्रामीण क्षेत्रमा समेत पुर्‍याउने तयारीमा डिश होम रहेको आचार्यले जानकारी दिए ।   

भूउपग्रह मार्फत गर्ने वा फोर जी मार्फत इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा विकास गर्ने भन्ने विषयमा अझ बढी गम्भीर अध्ययन आवश्यक रहेकोले कम्पनी त्यसतर्फ लागेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस