
काठमाडौं । अरुण काबेली पावरले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत अन्तिम रुप दिनेछ ।
१७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि कम्पनीको छ । हाल कम्पनीको संचालक समितिमा ७ जना संचालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको मितिभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ७० करोड ६७ लाख ६ हजार बराबरको विद्युत विक्री गरेको छ । विद्युत विक्री आम्दानी बढेको कम्पनीको खुद नाफा अघिल्लो वर्षभन्दा १६८ दशमलव ३८ प्रतिशत बृद्धि भएको छ । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. २८ करोड ९७ लाख ९१ हजार खुद नाफा गर्न सफल भएको हो ।
उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम भने रू. २९ करोड २२ लाख ५८ हजार कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ४३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस