काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।
सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।
सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने बताए ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, विज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागीता रहने आयोजकले बताएको छ ।
मंगलबार भएको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र विभागीय प्रमुख सुनिता मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस