
काठमाडौं । उखु किसानहरुले आफ्नो उखुको भुक्तानी नपाएमा संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्रका अध्यक्षचित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ अखिल नेपाल किसान महासंघ(अप्फा)का महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपालजका इन्चार्ज कृष्ण राले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, देशको अर्थतन्त्र र राजनीतिक परिवर्तनको मुख्य चालक शक्ति भएर पनि परिवर्तनको प्रत्यक्ष फल चाख्न नपाउने वर्गको रुपमा किसान समुदाय रहेको कुरा जगजाहेर छ । रातोदिन वर्षा, झरी, गर्मी, ठण्डी, हिउँ, तुषारो नभनीकन वर्षभरि परिश्रम गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार नपाउनु, बजारमा लगिएका आफ्ना उपज÷वस्तुको मूल्य आफैले निर्धारण गर्न नपाउनु र महिनौँको मेहनतबाट उत्पादन गरेको वस्तुमा उत्पादक किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन वाध्य हुनुपर्ने र उपभोग्यवस्तुको मूल्यको ठुलो हिस्सा विचौलिया, दलाल र व्यापारीहरूले पाउने स्थिति नेपाली कृषिको तितो यथार्थ हो ।
विगत लामो समयदेखि उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई विक्रिवितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका अभिसाप भएको गुनासो गरेका छन । उखु उत्पादक किसानहरूका लागि पीडादायक कुरा हो भने किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय भएको आरोप लगाएका छन ।
यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिएको बताएका छन् ।
वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन हामी किसान संगठनहरू जोड्दार माग समेत गरेका छन ।
किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पारेका छन ।
प्रतिक्रिया दिनुहोस