aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्दै रू रू जलविद्युत परियोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्दै रू रू जलविद्युत परियोजना

काठमाडौं । रू रू जलविद्युत परियोजनाले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांश समेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्दैछ । 

बैशाख २० गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार सुरु गरेको यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी बैशाख ३ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो । 

कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ । यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । 

सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साथै एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस