aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नयाँ व्यवसायमा जम्दै छिन् शिक्षा, गुनासो गर्छिन्- कानुन नहुँदा पानीजहाज किन्न पाएनौँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
नयाँ व्यवसायमा जम्दै छिन् शिक्षा, गुनासो गर्छिन्- कानुन नहुँदा पानीजहाज किन्न पाएनौँ

काठमाडौँ।  साउन २९ गते शुक्रवारका दिन अर्थ-वाणिज्य क्षेत्रको अन्तर्राष्ट्रिय प्रसिद्ध सञ्चारमाध्यम 'ब्लुम्वर्ग'मा एउटा समाचार प्रकाशित भयो। जसको शीर्षक थियो- 'चाइनज् पोर्ट सटडाउन रेजेज फियर अफ क्लोजर वोर्ल्डवाइड' अर्थात् चीनको बन्दरगाह बन्द हुँदा विश्वव्यापी चिन्ता बढ्यो। 

त्यो समाचार नेपालका सामान्य मानिसका लागि चासोको विषय थिएन। यहाँका उद्योगी व्यापारीका लागि पनि सामान्य खबर मात्र बन्यो। तर, यहीँ एउटा नयाँ व्यापार सम्हालिरहेकी उमेरले भर्खर 'तीस वर्षमा' टेकेकी शिक्षा भट्टचनलाई भने त्यसले पिरोल्यो। किनभने उनी नेपालकै पहिलो र एक मात्र सिपिङ्ग कम्पनी 'नेपाल सिपिङ लाइन्स'की प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। त्यसैले उनको व्यापारलाई चीनको बन्दरगाह बन्द हुँदा प्रत्यक्ष रूपले नै प्रभाव पार्छ। 

के हो नेपाल सिपिङ्ग लाइन्स 

नेपाल सिपिङ्ग लाइन्स पहिलो नेपाली सिपिङ्ग कम्पनी हो। जसले आफ्नो नयाँ र आधुनिक कन्टेनरहरूमा राखेर नेपालबाट मालवस्तुहरु बाहिर लाने र विश्वभरबाट यहाँ ल्याउने काम गर्छ। यसका कन्टेनर बोकेका जहाजहरू बंगालको खाडी देखी अरब सागर, साउथ चाइना सी देखि प्रशान्त महासागरसम्म र सयौँको सङ्ख्यामा हिन्द महासागरमा यात्रा गरिरहेका छन्। यो कम्पनीले भारतको आधार बन्दरगाहहरूसम्म पहिलो पटक प्रत्यक्ष रूपमा गैर फीडर स्वतन्त्र कन्टेनर लाइनर सेवा सुरु गर्न अनुमति पाएको छ। 

नेपाल शिपिंग लाइन्सले सम्पूर्ण क्षेत्रको आयातकर्ताहरू, निर्यातकहरुको सबैभन्दा मन पर्ने व्यापार साझेदारको रूपमा मान्यता प्राप्त गर्दै छ । प्रभु ग्रुप अन्तर्गत  रहेको यो कम्पनीले सो समूहको मुख्य गतिविधिहरूलाई सहयोग गर्न जहाज व्यवस्थापन, टर्मिनल सञ्चालन, र लजिस्टिक (रसद) सँग सम्बन्धित समस्याको  समाधानका लागी आफ्ना व्यापार क्षेत्रहरूलाई विस्तार गरेको छ। नेपालको समग्र उद्यमहरूको भविष्य निर्माणका लागि अवसर प्रदान गर्ने यो कम्पनीले  नेपालको वैदेशिक व्यापारको दिगो वृद्धिका लागि पनि सहयोग पुर्याईरहेको छ।

नेपालबाट निर्यात हुने वस्तुलाई सहज ढगले गन्तव्य मुलुकसम्म पुर्‍याउने र बाह्य विश्वबाट यहाँसम्म वस्तु ल्याउने नेपाल सिपिंग लाइन्सको कामले प्रत्यक्ष रूपमा नै नेपाली अर्थतन्त्रलाई सहयोग पुर्‍याइरहेको शिक्षाको दाबी छ। उनी भन्छिन्, "हामीले राज्यलाई गरेको योगदान भने उल्लेख्य छ। नेपालबाट ढुवानी सेवाको भुक्तानीका रूपमा बाहिर जाने ठुलो मात्राको विदेशी मुद्रा हाम्रो सेवाको कारण नेपालमा नै रहने गरेको छ।"

कसरी हुन्छ सिपिंग व्यापार 

सामान्य रूपमा भन्नुपर्दा सिपिंग व्यवसाय भनेको कन्टेनरमा माल वस्तु सिल प्याक गरेर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने हो। हाम्रो देशमा नेपाल सिपिङ लायन्सले सुरु गरेको यो व्यापार अहिले तेस्रो वर्षमा यात्रा गरिरहेको छ। नेपाल सिपिङ लायन्स नेपालमा यस प्रकारको व्यापार गर्ने एक मात्र कम्पनी हो। नयाँ क्षेत्रमा व्यापार सुरु गरेको भए पनि नेपाल सिपिङ लायन्सले यसबिच अपेक्षित रूपमा प्रगति हाँसिल गरिरहेको सिइओ भट्टचन बताउँछिन्। 

नेपाल सिपिङ लायन्सका विश्वभर धेरै एजेन्ट र साझेदार कम्पनीहरू छन्। उनीहरूले ढुवानी अर्डर लिएका बस्तुहरू जहाजमा हाल्ने र गन्तव्यमा पुगेपछि त्यसलाई सम्बन्धित आयातकर्तालाई जिम्मा दिने काम गर्छन्। त्यसैले यो व्यवसायमा बाहिरी मुलुकमा रहेका एजेन्ट र पार्टनर कम्पनीहरूसँगको नियमित सम्पर्क, उनीहरूको सही ढङ्गले परिचालन सबैभन्दा महत्त्वपूर्ण हुन्छ।  

यस्ता छन् समस्या 

नेपाल सिपिङ लायन्सले नेपाली झन्डा  नै राखेर कन्टेनर चलाएको छ। त्यो कन्टेनर नेपाली झन्डालाई चिनाउँदै विश्वभर समुद्रमा चलिरहेको छ। यदि कुनै नेपाली आयातकर्ताले यहाँबाट सामान मगायो भने त्यो नेपाली झन्डा अङ्कित कन्टेनर नेपालसम्मै आउने गर्छ। शिक्षा  भन्छिन्, " समग्र नेपालीहरूको लागि पनि यो गौरवको कुरा हो। तर पनि, धेरै कुराहरूले हामीलाई यो व्यापारमा सहजता छैन। हामीले जहाज किन्न खोज्दा समेत त्यो सम्भव भइरहेको छैन। "

उनले नेपाल सिपिङ लायन्सले आफ्नै पानीजहाज खरिद गर्ने प्रयास गर्दा कानुनी अड्चनको कारण त्यो सफल नभएको बताइन्। नेपालमा  जहाज दर्ता गर्ने निकाय नै नभएका कारण आफूले चलेको जहाज खरिद प्रक्रिया पुरा हुन नसकेको उनले जानकारी दिइन्। नेपाल सिपिङ लायन्सले सिंगापुरबाट जहाज किन्ने तयारी गरेको थियो। नेपालमा त्यसलाई नियमन गर्ने ऐन नै नभएका कारण प्रक्रिया अघि बढ्न नै सकेन। 

त्यसबाहेक मुद्रा सटही पनि यो कम्पनीले भोगिरहेको अर्को समस्या हो। नेपाल सिपिङ लायन्स ढुवानी सेवा मात्र दिने कम्पनी भएको करण यसले प्रतीत पत्र (एलसी) खोल्दैन। तर, आफ्ना कन्टेनर ओसार्ने जहाज देखी अन्य निकाय र साझेदार विदेशी कम्पनीलाई सेवा बापतको भुक्तानी भने अन्तर्राष्ट्रिय मुद्रा (डलर) मा  गर्नुपर्ने हुन्छ।  त्यसको सटहीको सुविधा नेपाल सिपिङ लायन्सलाई राष्ट्र बैंकले दिँदैन किनकि उसले प्रतीत पत्र खोलेका आयातकर्तालाई मात्र त्यसको आधारमा मुद्रा सटही सुविधा दिने गरेको छ। 

यो हाल ब्यवारिक रूपमा दैनिक भोग्नु परेको समस्याका रूपमा रहेको भट्टचन बताउँछिन्।  उनी भन्छिन्, "हामीसँग प्रतीत पत्र त हुँदैन त्यसैले हामीले डलरको कारोबार गर्न सक्दैनौ। त्यसले गर्दा आयातकर्ताले सबै भुक्तानी उतै गर्नुपर्ने बाध्यता छ।  हामीलाई आउने भनेको बचेको केही कमिसन मात्र हो। यदि यो कुरामा सहजता हुने हो भने ठुलो मात्रामा बिदेसिने वैदेशिक मुद्रा यहाँ नै रहन्थ्यो।" यस्तो सुविधा पाए आफूलाई व्यापारमा सहज हुने र मुलुकको वैदेशिक मुद्रा संचितिमा समेत योगदान पुग्ने उनको भनाई छ।     

नेपालमा सिपिंग व्यापार 

अहिले विश्व बजारमा सिपिंग सेवाको मूल्य नै अत्यधिक बढेको छ। यो अवस्था भनेको इतिहासमा नै यस्तो ढुवानी सेवामा देखिएको सर्वाधिक मूल्य वृद्धि हो। जुन तत्कालै तल झर्ने देखिँदैन। जसले गर्दा विश्वव्यापी रूपमा नै बस्तुहरूको मूल्य बढ्ने त छँदै छ, सिपिंग व्यवसायमा समेत धेरै खालका समस्याहरू सिर्जना भएका छन्।  

नेपालको हकमा यो सिपिङ बिजनेस आफैँमा नौलो व्यवसाय हो। नेपालमा वार्षिक रूपमा २ लाख कन्टेनर आउने गरेका छन्।  त्यसैले यसको व्यापार गर्ने अवसर यहाँ पर्याप्त मात्रामा छ। नेपालभित्रै गर्न सकिने आन्तरिक व्यापार को आकार पनि कति ठुलो छ भन्ने हामी नेपाल भित्रिने कन्टेनरको सङ्ख्याबाट सहज अनुमान लगाउन सक्छौँ। नेपालमा सिपिंग व्यवसायको भविष्य आफूले राम्रो देखेको सिइओ भट्टचन बताउँछिन्।  उनले भनिन्, "बजार खाली छ।  हाल नेपाली कम्पनीको रूपमा सेवा दिने हामी मात्र छौँ।  विदेशीहरूले गरिरहेको व्यापारलाई हामीले आफूमा ल्याउन त्यति गाह्रो देखेका पनि छैनौ। " 

निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरू यहाँ उपलब्ध हुने भएकाले नेपाल सिपिङ लायन्स मार्फत ढुवानी गर्दा नेपालका निर्यातकर्ताहरुको समयको बचत हुने गरेको छ । जसले गर्दा कम ढुवानी दरमा झन्झटरहित निर्यात सम्भव भएको मात्र छैन निर्यात प्रवर्द्धनमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ ।

भट्टचनका अनुसार नेपाल सिपिङ लाईन्सको सेवा लिँदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरू मुक्त हुन्छन्। साथै विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने झन्झट समेत नहुने हुँदा नेपाल सिपिङ लाईन्ससँगको कारोबार सबै आयात तथा निर्यातकर्ताको लागि सहज छ। प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा गुणस्तरीय सामान ढुवानी सेवा दिनु नेपाल सिपिङ लाइन्सको उद्देश्य रहेको उनी बताउँछिन् । नेपाल सिपिङ लाईन्सलाई  आयातकर्ताहरूले डेलिभरी अर्डर पनि नेपाल मै दिन सक्ने व्यवस्था गरिएको छ ।

लकडाउनमा पनि रोकिएन काम  

कोरोना महामारीका कारण सिपिंग व्यापारमा लागत धेरै नै बढ्यो। कन्टेनरहरू जहाँ पुगे त्यहीँ थन्किए। जसले गर्दा नयाँ कन्टेनर खरिद गर्नुपर्ने बाध्यतामा कम्पनीहरू परे। यसरी एक्कासि नयाँ कन्टेनरको माग बढ्दा विश्वको कन्टेनर निर्माता एक मात्र मुलुक चीनले पनि राम्रै मौका पायो।  उसले कन्टेनरको मूल्यमा ५ गुणा सम्म वृद्धि गर्‍यो। 

यसबिच कन्टेनरको अभाव आफूहरूले पनि भोगेको शिक्षा बताउँछिन्।  उनले भनिन् , "धेरै नै गाह्रो भो तर पनि हामीले सेवा सुचारु राख्यौँ। पाँच सय डलरमा पाइने कन्टेनरलाई २५ डलरसम्म तिर्नु परिरहेको छ। यसरी महँगोमा कन्टेनर किनेर भए पनि हामीले कामलाई भने निरन्तरता दिएका छौँ।" नेपाल सिपिङ लाइन्सले लकडाउनका बिच पनि आफ्नो सेवालाई सुचारु राखेको थियो । विभिन्न मुलुकका बन्दरगाहहरूमा नेपाल सिपिङ लाइन्सका हजारौँ कन्टेनरहरूलाई तम्तयार अवस्थामा राखेर कम्पनीले ढुवानी सेवा सञ्चालन गरिरह्यो ।

लकडाउनको बेला निर्यात कार्गोका लागि वीरगन्जमा सयौँ कन्टेनरहरू स्टकमा राखेको सो कम्पनीमा स्थापनाकाल देखि नै काम गर्दै आएकी भावना बलायर बताउँछिन्।  भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर नेपाल सिपिङ लाइन्सले ढुवानी सेवालाई चुस्त ढङ्गले चलाएको बलायरले बताइन्। 

कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न नेपाल सिपिङ लाइन्सले महत्त्वपूर्ण योगदान गर्‍यो। मुलुकमा भयावह स्थिति सिर्जना हुनसक्ने अवस्थाप्रति आफूहरू सचेत रहेर काम गरेको भावनाको भनाई छ।  

प्रतिक्रिया दिनुहोस