
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको बताइन । उनले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिइन ।
जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले नेपाल आफैँ जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभए पनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको बताइन । राष्ट्रपति भण्डारीले भनिन, “कार्बन उत्सर्जनद्वारा विश्वव्यापी तापमान वृद्धि गर्न नेपालको भूमिका छैन । तर, तापमान वृद्धिकै कारण नेपालका हिमाल पग्लिने क्रम बढ्ने, वर्षातको प्रवृत्तिमा परिवर्तन आउँदा बाढी र भूक्षयका घटना बढ्नेलगायत प्रभावको हामीले सामना गर्नु परिरहेको छ ।”
उनले जलवायु परिवर्तनका विविध पक्षलाई मध्यनजर गरी यसका नकारात्मक एवं आकस्मिक प्रभावबाट जनताको सुरक्षा गर्न नेपालले पर्वतीय तथा अल्पविकसित राष्ट्रका रूपमा भोगिरहेका समस्यालाई विश्वमञ्चमा बलियो गरी उठाउनका लागि सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराए । सार्वजनिक यातायातदेखि नागरिकको भान्सासम्म नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिई पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्नसके वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुग्ने राष्ट्रपतिको विश्वास थियो ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले कोषका गतिविधिका साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपालको राष्ट्रिय प्रतिबद्धताका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो । कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले कोषको इतिहास र वर्तमान अवस्थाबारे परिचय गराएका थिए भने कार्यक्रममा कोषका वैज्ञानिकहरू डा सिद्धिरत्न बज्राचार्यले वन्यजन्तु संरक्षण र डा मनिषराज पाण्डेले अन्तरसरकारी समिति (आईपीसीसी) को प्रतिवेदनउपर प्रस्तुतीकरण गरेका थिए ।
राष्ट्रपति कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधि तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे आईपीसीसीले हालै प्रकाशित गरेको प्रतिवेदनउपर प्रस्तुति गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस