aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

हराएका २४ मोटरसाइकल फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ भदौ २०७८
हराएका २४ मोटरसाइकल फेला
फाइल तस्विर

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ । 

मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् । महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस