aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा ९ दशमलव ९९ गुणा बढी आवेदन परेको यस आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो । 

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो । 

आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । 

स्थायिन र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । 

कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

प्रतिक्रिया दिनुहोस