
काठमाडौं । साउन ३२ गतेदेखि विक्रीमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ भदौ १५ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गरेको हो । यो आईपीओ खरिद गर्ने छिटो अवधि भदौ १४ गतेसम्म रहेको थियो । भदौ १४ गते श्रीकृष्णजन्माष्टमीको कारण सार्वजनिक विदा परेकाले भदौ १५ गतेसम्म विक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
यो शेयर खरिदका लागि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरुको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस ग्रेडिङ्ग प्रदान गरेको छ । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।
प्रतिक्रिया दिनुहोस