
काठमाडौं । भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि खुला भएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने भदौ १५ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री खुला गरेको हो ।
यो आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ १५ गतेसम्म मात्र विक्री गरिने जानकारी कम्पनीले गरेको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ ३० गतेसम्म विक्री खुला गर्ने मिति तय गरिएको थियो ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । बाँकी २७ प्रतिशत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ ।
आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस