
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण भदौ १६ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ६५ दशमलव २३ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ६४ लाख १४ हजारभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २२ लाख ३० हजारभन्दा बढी मात्र यो नाफा गरेको हो ।
अघिल्लो वर्षभन्दा विद्यूत विक्री आम्दानी २९ दशमलव ७० प्रतिशत कम भएको र आयोजना लागत ६९ प्रतिशत बढी भएकाले सञ्चालन नाफा २२ दशमलव ८० प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफामा कमि आएको हो । अघिल्लो वर्ष रू. ८ करोड ५० लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले गत वर्ष रू. ५ करोड ९७ लाखभन्दा बढीको मात्र विक्री गरेको हो ।
अघिल्लो वर्ष रू. ५९ लाख ५६ हजार आयोजना लागतमा खर्चिएको कम्पनीले गत वर्ष रू. १ करोडभन्दा बढी खर्चिएको छ । आम्दानी कम र खर्च बढी भएको गत वर्ष कम्पनीको सञ्चालन नाफा रू. ४ करोड २९ लाखभन्दा बढी रहेको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिसम्म रू. ५ करोड ५५ लाखभन्दा बढी रहेको थियो ।
५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको हाल चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने ६९ प्रतिशत कम रू. ५० लाख २४ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९६ र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ८८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस