
काठमाडौं । नेपाली नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै छ । सोही अवसर पारेर विभिन्न कम्पनीहरूले विशेष योजनाहरुहरु सार्वजनिक गरिरहेका छन्। महिलाहरूको खुसीमा साथ दिन बैंक, वित्तीय संस्था, इन्टरनेट प्रदायक देखि अस्पतालसम्मले अफरहरू दिएका छन्। हेर्नुहोस् कुन कम्पनीको कस्तो छ, अफर:
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी तीज विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढवा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ ।
भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आईएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ । क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरूलाई ग्राह्यता दिने भएको छ ।
ग्लोबल आईएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरूले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत ३ हजार रुपैयाँ वा सो भन्दा बढीको भुक्तानीमा ३ सय क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ ।
गरिमा विकास बैंक
तीजको अवसरमा गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरूको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरूले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरूले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ ।
यस पर्वको मर्म विपरीत बनेको वा उच्छृङ्खल तवरले बनेका भिडियोहरूलाई विजेताको रूपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले ९ हजार उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार जित्ने मौका रहेको छ । एउटा अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।
बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरू साथै सर्तहरूलाई आफ्नो फेसबुक र वेबसाइटमा राखेको छ । इच्छुक महिला टिकटकरहरुले भदौ १० गते देखि २४ गतेसम्म टिकटक भिडियोको क्याप्सनमा #GarimaTeejkolahar/#Garimabikasbank ह्यासट्याग प्रयोग गरी टिकटक भिडियो बनाउन सक्नेछन् ।
प्रभु क्यापिटल
प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरूको महान् चाड तिजको विशेष अवसर पारेर महिलाहरूलाई केन्द्रित गरी उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो ।
यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरूले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रूपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ‘महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याइएको क्यापिटलले जनाएको छ।
यस योजनामा संलग्न भएका ग्राहकहरूले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण इमेल मार्फत पाउने व्यवस्था गरिएको छ । त्यसै गरी ग्राहकहरूले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ ।
सिजी नेट
सिजी नेटले तीज पर्वको अवसर पारेर महिलाहरूलाई लक्षित गरी तीजको विशेष अफर 'आयो बरिलै' सार्वजनिक गरेको छ । सिजी नेटका अनुसार उक्त अफर भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म चल्ने छ । विशेष गरी महिला ग्राहकहरूका लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्स्क्राइब गर्नुपर्ने कम्पनीले जनाएको छ । सब्स्क्राइब गरिएको प्लान महिलाको नाममा हुनुपर्ने छ । उक्त अफर सब्स्क्राइब गरेबापत 'लक्की ड्र' बाट दैनिक रूपमा दुई वटा घरायसी सामग्री पुरस्कार प्राप्त गर्न सकिने र अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्रका साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटल
नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दु नेपाली नारीहरूको महान् चाड तीजलाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो ।
भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेज अन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरू दुई वटा स्तनको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरू बेलाको रेट ८ हजार रुपैयाँ रहेकोमा तिजको अवसरमा ६ हजार ६ सय ६६ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, स्तनको यूएसजीसहितको प्याकेजको मूल्य अरू बेला १० हजार रुपैयाँ पर्नेमा तिजमा छुट गरी ७ हजार ७ सय ७७ कायम गरिएको छ । यसै गरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरू बेलाको मूल्य १३ हजार ४ सय रुपैयाँ रहेकोमा तिजको अफर अन्तर्गत ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस