
एजेन्सी । कोरोना महामारी कम हुँदै जाँदा बलिउडमा समेत चहलपहल बढेको छ । त्यहाँका स्थापित कलाकारहरू अमिताभ बच्चनदेखि अनुपम खेरसम्म नयाँ फिल्म सुटिङमा व्यस्त बन्दै छन् । कतिपय डाइरेक्टरले भने राम्रा लेखकहरूलाई पटकथा लेखनका लागि धमाधम लिइरहेका छन् ।
एक्टर डाइरेक्टर सतीश कौशिकले सन् २०१५ को नेशनल अवार्ड विजेता फिल्म निर्नायकमका लेखकलाई नयाँ फिल्मको लागि अनुबन्धन गरेका छन् । मलयालम फिल्मको हिन्दी भर्सन कागज २ का लागि उनले तयारी गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यसैगरि, आफ्नो आगामी फिल्म भुलभुलैया २ को निर्माणमा अर्का डाइरेक्टर अनीश बज्मी व्यस्त छन् । कियारा अडवानी, कार्तिक आर्यन, राजपाल यादव र तबु रहेको यो सिनेमा निकै दमदार लभ स्टोरी बन्ने अनुमान गरिएको छ ।
उता, बिग बी अमिताभ बच्चन भने आफ्नो आगामी फिल्म उचाइको सुटिङका लागि नेपाल आउने तयारीमा छन् । सुरज बडजात्यको फेमिली ड्रामा उचाइमा उनले अभिनय गर्ने सहमति जनाइसकेको छन् । यो फिल्ममा बोमन इरानी र अनुपम खेर पनि महत्त्वपूर्ण भूमिकामा देखिने भएका छन् ।
नेपालमा छायांकन गर्ने तयारी गरिएको यो सिनेमा सुटिङका लागि यही अक्टोबर महिनामा अमिताभ नेपाल आउने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनी ४० देखि ४५ दिनसम्म नेपालमै बसेर सुटिङ गर्नेछन् ।
सो फिल्मको केही भाग भने भारतको मुम्बई र दिल्लीमा हुने बुझिएको छ । अर्को साल २०२२ को मध्यतिर सिनेमा हलमा रिलिज हुने अनुमान गरिएको यो फिल्मको विषय निकै नै आकर्षक रहेको बुझिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसमा मित्रताबारे निकै रोचक कथा प्रस्तुत गरिएको छ । यो सिनेमामा नायिका निना गुप्ता समेत रहने छिन् ।
प्रतिक्रिया दिनुहोस