
काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीजका कारण सामान किनमेल गर्नेको भिडले सहर बजार तातिरहेको छ । कोरोना महामारीले ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ । सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक पसल, फुटपाथदेखि सुपर स्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ । त्यससँगै सबैभन्दा बढी भिड त सुन पसलमा देख्न पाइन्छ ।
तीजमा सामान्यतया महिलाहरु सुनचाँदीका गहनाले छपक्कै सजिने पनि गर्छन् । अझ त्यो भन्दा बढी त गरगहनाले सजिएर तीजमा हिँड्ने महिलाको बेग्लै जमात समेत छ । जसले गर्दा सुन तथा चाँदी पसलमा ग्राहकको भिड हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले तीज नजिकिएसँगै सुनचाँदीको कारोबार पनि बढ्दै गएको बताए ।
अध्यक्ष शाक्यले आर्थिक न्युजसँग भने, ‘भदौ महिना लागेसँगै तीजको चहलपहल सुरु हुन्छ । तीजको बेलामा सुनको कारोबार धेरै नै हुने गर्छ । यसले गर्दा अहिले सुन पसलमा भिड बढ्दै गएको छ ।’
त्यसैले अहिले नेपाली बजारमा सुनको माग बढ्दो छ । तर, कारोबार बढैसँगै बजारमा सुन अभाव हुन थालेको छ । उनले सुनको माग बढेसँगै बजारमा सुन अभाव देखिन थालेको बताए । ‘अहिले बजारमा सुनको माग दिनप्रतिदिन बढ्दो छ,’ उनले भने, ‘साउन महिनामा दैनिक २० केजीको हाराहारीमा सुनको खपत भएको थियो । तर, अहिले दैनिक ३० देखि ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । आपूर्ति दैनिक २० केजी मात्र हुने भएकोले सुनको माग धान्न धौधौ परिरहेको छ ।’
अध्यक्ष शाक्यले पहिले नै व्यवसायीहरूले तयार बनाएर राखेको नयाँ नयाँ डिजाइनका गरगहनाले अहिले मागको केही हिस्सा धानेको बताए । उनले भने, ‘पछिल्ला दिनहरूमा रेडिमेड गरगहना पर्याप्त बिक्री हुने गरेको छ, पहिले नै व्यवसायीले किनेर रिफाइन गरेर तयार गरेका गहना यति बेला बेच्ने गर्छन्, जसले गर्दा मागलाई केही मात्रामा धान्न त सकेका छौँ। तर, सधैँ यसरी त पुग्दैन ।’
उनका अनुसार तिजका कारण दैनिक सुनको माग ३५ केजीसम्म हुने गरेको छ । तर, सुनको आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेका छन् । लामो समयपछि बजारले लय समाते पनि आयात कोटाका कारण कारोबार प्रभावित हुने खतरा बढेको अध्यक्ष शाक्यले बताए । उनले भने, ‘बजारमा सुनको माग बढेकै कारण सुन अभाव देखिन थालेको छ । माग बढे पनि सुन उपलब्धता कम छ । यसले गर्दा सुनको आपूर्ति दैनिक ३० केजीसम्म हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
अध्यक्ष शाक्यले सुनको आयात कोटा बढाउनेबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराउन लागिएको जानकारी दिए । उनले भने, ‘हामी सुनको कोटा बढाउनेबारे आइतबार अर्थ मन्त्रालय, राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराउन जाने तयारीमा छौँ ।’
हाल सुनको मूल्य प्रतितोला ९० हजारको आसपासमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार चार सय रहेको छ । त्यस्तै, शुक्रवार चाँदीको मूल्य प्रतितोला ११९५ रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस