
काठमाडौँ। अघिल्लो साता ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमति पाएको अर्घाखाँची सिमेन्टले फेरी अर्को महत्त्वपूर्ण अनुमति हात पार्दैछ। त्यो हो, ५३ ग्रेडको सिमेन्ट समेत उत्पादन गर्ने अनुमति। अर्घाखाँची सिमेन्ट लिमिटेडले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत गएको बिहीबार नै प्राप्त गरिसकेको छ ।
अर्घाखाँची सिमेन्ट कम्पनीका महाप्रबन्धक उद्धव कार्कीका अनुसार अबको १५ दिन भित्र सो उद्योगले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने अनुमति समेत प्राप्त गर्दैछ। नेपाल गुणस्तर तथा नापतौल विभागले प्रमाणीकरण गरी सिमेन्ट कम्पनीलाई उक्त ग्रेडको प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिरहेको उनले बताए ।
कम्पनीका महाप्रबन्धक कार्कीले भने, ‘हालसम्म जे जस्तो गुणस्तरको सिमेन्ट उत्पादन भइरहेको भएपनी ३३ ग्रेड सो सरहको मात्र मान्यता पाइरहेकोमा हाम्रो उत्पादनले ४३ ग्रेडको प्रमाणीकरण प्राप्त गरिसकेको छ। अब दुई साता भित्रैमा ५३ ग्रेडको पनि अनुमति प्राप्त गर्दैछौं। यसबाट आम उपभोक्ता अर्घाखाँचीका उत्पादन प्रयोग गर्न थप निश्चिन्त हुनसक्नेछन्।’
यसैबिच अर्घाखाँची सिमेन्ट कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासनको तयारी समेत गरिरहेको छ। यो कम्पनी गत आर्थिक वर्ष २०७७/०७८ मा प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी बनेको हो। कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलका अनुसार कम्पनीले अर्को आर्थिक वर्षभित्र आइपिओ निष्कासनको तयारी गरेको हो ।
सो कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीले यसै आर्थिक वर्ष भित्र पुँजी पुनर्संरचनाको तयारी समेत गरिरहेको छ। यसरी हुने पुँजीको पुनर्संरचनाले नै कम्पनीले कस्तो प्रकारले कुन आकारको प्राथमिक शेयर निष्कासन गर्ने भन्ने निर्धारण गर्ने छ। पौडेलका अनुसार हालसम्मको तयारी भने थप गर्न लागिएको चुक्ता पुँजीको १२ प्रतिशत साधारण शेयर निष्कासनबाट रकम जुटाउने सोचका आधारमा भइरहेको छ।
अब आर्थिक वर्ष ०७८/०७९ को ब्यालेन्स सिटको आधारमा हालका शेयर सदस्यहरूलाई कति बोनस बाँड्ने भन्ने निर्धारण गर्ने र त्यसैको आधारमा कति पुँजी बिस्तार गर्ने भन्ने निर्क्योल गर्न लागेको छ। अब वितरण गर्ने नाफालाई नै शेयरमा परिणत गर्ने वा त्यो लाभांश नगदमा नै वितरण गरेर नयाँ पुँजी जुटाउने लगायतका धेरै कुरा भने प्रष्ट्र भइसकेको छैन।
त्यसबाहेक बुक बिल्डिङ विधि मार्फत आइपिओ जारी गर्ने वा प्रिमियम दरमा निष्कासन गर्ने भन्ने अन्यौलता पनि कायमै छ। सर्वोत्तम सिमेन्टको बुक बिल्डिङबाट काम सम्पन्न भैसकेको भए त्यसले एक प्रक्रिया निर्धारण गरिसकेको हुने थियो तर कुरा उठेर पनि त्यसले पूर्णता नपाउँदा अर्को सिमेन्ट कम्पनीले धेरै कुरा निश्चित गर्न सकेको छैन।
अघिल्लो आर्थिक वर्षको नाफाले आइपिओ जारी सम्बन्धी धेरै कुरा निर्धारण गर्ने अवस्थामा रहेको अर्घाखाँची सिमेन्टले वार्षिक रूपमा सरदार ९ अर्बको व्यापार गर्दै आएको कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले बताए। यो कम्पनीले ओपीसी र पीपीसी सिमेन्टका अलावा क्लिंकर समेत उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस