aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तल्लो मोदीखोलाको विद्युत उत्पादन बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
तल्लो मोदीखोलाको विद्युत उत्पादन बन्द

पर्वत । यहाँको कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण विगत पाँच दिनदेखि उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।  आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पु¥याएको छ । 

बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ ।

पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए । यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले  आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पु¥याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस