
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८० करोड ६५ लाख ७५ हजारको आधारमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको हकप्रद शेयर विक्रीको तयारी गरेको हो । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको भदौ १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले बोनस शेयरसँगै र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ । सोही सभाले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गरेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ८ करोड २७ लाख ४९ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष कम रू. ८ करोड ३५ लाख ७७ हजार रहेको छ । विद्युत विक्रीबाट गत चौथो त्रैमाससम्म कम्पनीले रू. २० करोड १५ लाख ७५ हजार आम्दानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ४० रहेको छ ।
प्रतिक्रिया दिनुहोस