aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ८ हजार ८२० जनाको आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ८ हजार ८२० जनाको आवेदन रद्द

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे भएको बाँडफाँटमा ७४ हजार ४०० जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन् । 

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

२३ लाख ५५ हजार ४४७ आवेदकहरुले २ करोड ७८ लाख ४०० कित्ता शेयर खरिदको लागि आवेदन दिएकोमा ८ हजार ८२० जनाको आवेदन रद्द भएको छ । योग्य २३ लाख ४६ हजार ६२७ जना आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो । 

आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । 

यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

प्रतिक्रिया दिनुहोस