
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रथम अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले उक्त प्रतिवेदन सार्वजनकि गर्दै कर्णाली प्रदेशमा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन ३.८२ प्रतिशत र खाद्य तथा अन्य बालीको कुल उत्पादन ६.५२ प्रतिशतले बढेको जनाएको छ । गत वर्षको सोही अवधिमा समग्र कृषि बालीको उत्पादन ०.६५ प्रतिशतले बढेको र खाद्य तथा अन्य बालीको उत्पादन २.८३ प्रतिशतले घटेको थियो । उक्त बृद्धि अनुकुल मौसम तथा कृषि क्षेत्रको बिस्तारले भएको अनुमान छ ।
त्यस्तै, उक्त प्रतिवेदन अनुसार खाद्य तथा अन्य बाली समीक्षा अवधिमा धान उत्पादन ३.८१ प्रतिशत, मकै उत्पादन १७.४५ प्रतिशत, कोदो उत्पादन १७.७५ प्रतिशत, फापर उत्पादन २३.४३ प्रतिशत र भटमास उत्पादन २०.५३ प्रतिशतले बढेको छ भने जौ उत्पादन १.२७ प्रतिशत, आलुउत्पादन ८.०९ प्रतिशत, उखु उत्पादन ३.१३ प्रतिशत, तरकारी उत्पादन ३.२६ प्रतिशत, फलफुल तथा मसला उत्पादन ०.१९ प्रतिशत र दलहन उत्पादन ६ प्रतिशतले घटेको छ ।
गत वर्षको सोही अवधिमा धान उत्पादन २.८९ प्रतिशत, दलहन उत्पादन १०.२०, आलु उत्पादन ०.०१ प्रतिशत, दलहन उत्पादन १०.२० प्रतिशतर भटमास उत्पादन १२.४२ प्रतिशतले बढेको थियो भने मकै उत्पादन ६.९८ प्रतिशत, कोदो उत्पादन १२.८० प्रतिशत, जौ उत्पादन १०ं.०८ प्रतिशत, फापर उत्पादन १४.४८ प्रतिशत र तेलहन उत्पादन ४.२० प्रतिशतले घटेको थियो ।
त्यस्तै, यस प्रदेशमा समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन मध्ये मकै उत्पादनको हिस्सा सबैभन्दा बढी ३९.७१ प्रतिशत रहेको छ भने ऊखु उत्पादनको हिस्सा सबैभन्दा कम ०.०२ प्रतिशत रहेको छ । त्यसैगरी धान उत्पादनको हिस्सा २५.७७ प्रतिशत र आलु उत्पादनको हिस्सा २१.६९ प्रतिशत रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको कार्यान्वयन, सरकारको कृषिप्रतिको सकारात्मक सक्रियता, तथा प्रदेश सरकारको व्यवसायीक खेतीप्रतिको सकारात्मक प्रयासले कृषि उत्पादनमा अनुकुल प्रभाव परेको छ ।
त्यसैगरि, समीक्षा अवधिमा तरकारीको उत्पादन ३.२६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा तरकारी उत्पादन २५.०१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा तरकारीको उत्पादनमा देखिएको ह्रास कोभिड–१९ को प्रभावले तरकारीजन्य बीउ बीजन तथा कीटनाशक औषधिको असहज आपूर्तिले भएको अनुमान गरिएको छ । समीक्षा अवधिमा तरकारी उत्पादन सबैभन्दा बढी २२.९३ प्रतिशत सल्यान जिल्लामा भएको छ भने सबैभन्दा कम २.३१ प्रतिशत हुम्ला जिल्लामा भएको छ ।
यस्तै, समीक्षा अवधिमा फलफूल तथा मसलाको समग्र उत्पादन ०.१९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सुन्तला उत्पादन ४४.१६ प्रतिशत, चिया उत्पादन ०.८१ प्रतिशत र कफी उत्पादन ५० प्रतिशतले बढेको छ भने आँप उत्पादन १६.०५ प्रतिशत, केरा उत्पादन ०.९४ प्रतिशत, स्याउ उत्पादन १०.८० प्रतिशत र मसला उत्पादन २.७३ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा आँप उत्पादन ९.७० प्रतिशत, केरा उत्पादन ५.२३ प्रतिशत, स्याउ उत्पादन १४.६१ प्रतिशत, अन्य फलफूलको उत्पादन १६.६८ प्रतिशत र कफी उत्पादन शतप्रतिशतले बृद्धि भएको थियो ।
उक्त प्रतिवेदन अनुसार समीक्षा अवधिमा यस प्रदेशमा भएको कुल फलफूल तथा मसलाको उत्पादनमध्ये सबैभन्दा बढी ४३.३४ प्रतिशत मसला (अदुवा, वेसार आदि) उत्पादनको रहेको छ भने सबैभन्दा कम आँप उत्पादनको हिस्सा ३.२० प्रतिशत रहेको छ । यसैगरीे सुन्तला उत्पादनको हिस्सा १३.२० प्रतिशत, केरा उत्पादनको हिस्सा ५.१७ प्रतिशत, स्याउ उत्पादनको हिस्सा १९.६७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस