aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चार मेगावाट बिजुली थपिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
चार मेगावाट बिजुली थपिँदै

लमजुङ । जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङदीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । 

उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको हो । 

रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङदी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिने छ ।  

आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस