
काठमाडौं । भदौ १८ गतेदेखि विक्रीमा आएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि साउन २२ गतेदेखि निष्कासनको तयारी गरिएको यो आईपीओ उक्त अवधिमा त्यस क्षेत्रमा कोभिड संक्रमणलाई रोक्न निशेधाज्ञा गरिएकाले निष्कासन प्रकृया स्थगित गरिएको थियो । परिस्थिति सहज भएसँगै कम्पनीले आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गर्न लागेको हो । आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।
माग बमोजिम आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज १ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । यस अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा भने असोज १७ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो । यो शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै नेपाल एसबिआई बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडको ईलाम शाखा र सिभिल बैंक लिमिटेडको माईजोगमाई शाखाबाट आवेदन दिन सकिनेछ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । यो नेटवर्थदेखि तीनगुणासम्मको मूल्य कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस