
काठमाडौं । फ्रान्सेली मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता सांग्रिला मोटरले सिट्रनको बिक्री शुरु गरेको छ । सांग्रिला मोटरले पुजोको बिक्री सन् २०१७ देखि नेपालमा गर्दै आएको हो ।
सिट्रन सिफाइभ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रन एसयुभी भएको कम्पनीको दाबी छ । यसमा १.६ लिटर पेट्र«ोल इन्जिन रहेको छ । यसले १६५ एचपीको पावर र २४० एनएमको टर्क प्रदान गर्ने जनाइएको छ ।
सिट्रनको सबभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी रहेको जनाइएको छ । यसमा जडान गरिएका डुअल प्रोग्रेसिभ सस्पेन्सन कुसनले चालक र यात्रु दुवैलाई आरामदायी अनुभव गराउने कम्पनीको दाबी छ । यो गाडीको अग्रिम बुकिङ सुरु भइसकेको र मूल्य एक करोड ३५ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
सिट्रन मोटर एक सय वर्षभन्दा अघिदेखि उत्पादनमा आई सवारीसाधनको क्षेत्रमा नयाँ इतिहास बनाएको कम्पनीको दाबी छ । सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो र सन् १९३४ देखि सिट्रनले सर्वप्रथम ट्र्याक्सन एभेन्ट मोडलको कारबाट मोटर क्षेत्रमै पहिलोपटक फ्रन्ट ह्विल ड्राइभ र फोर ह्विल इन्डिपेन्डेन्ट सस्पेन्सनजस्तो आधुनिक प्रविधि भित्र्याएको कम्पनीको दाबी छ ।सिट्रनकोे सोरुम थापाथलीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस