
काठमाडौँ। विराटनगर सहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो ।
सो बस कम्पनीले विराटनगर – काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको जनाएको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ ।
यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए बापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरू समावेश गरिने छ । यो बुलेट बस प्रा.लि.मार्फत हाल सात वटा बस संचालनमा आएका छन् ।
बस सञ्चालक कम्पनीले बुलेट बसमा हवाई जहाजको जतिकै सुविधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस