
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, सर्वसाधारणतर्फको ७ लाख ३६ हजार २८६ कित्ता र स्थानिय वासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत गराएकोहो ।
एमकेजेसीएल स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । कुल शेयरमध्य सर्वसाधारणतर्फको शेयर मात्र सम्बन्धीत शेयरधनीहरुले खरिद विक्री गर्न पाउनेछन् । संस्थापक र स्थानिय तर्फको शेयर भने तीन वर्षसम्म खरिद विक्री गर्न पाइनेछैन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ७५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । सोकी प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज नेप्सेले तोकेको हो ।
कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरिएको हो । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी साउन २६ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि भने २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ ।
उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस