aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्यादी हाइड्रोपावरद्वारा स्थानियमा आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
न्यादी हाइड्रोपावरद्वारा स्थानियमा आईपीओ बाँडफाँट

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियमा आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो । 

यस आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमबाट मागभन्दा ४ दशमलव ६९ गुणा तथा आयोजना अति प्रभावित क्षेत्र बाहेक लमजुङ्ग जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुबाट मागभन्दा ५ दशमलव ४७ गुणा बढी आवेदन प्राप्त भएको थियो । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकहरुले शेयर पाएका छन् । सबै आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १४० कित्तासम्म शेयर पाएका हुन ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गरेको थियो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । 

कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । बाँकी २७ प्रतिशत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७।७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस