
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गते दशौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा चोक, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि वार्षिक लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड ८४ लाख १० हजार रहेकोमा बोनस पश्चात यो पूँजी बृद्धि भई रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार पुग्नेछ । सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ ।
सभाले दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस