
एजेन्सी । भारतीय शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बम्बई स्टक एक्सचेन्ज (बिएसई सेन्सेक्स)ले पहिलो पटक ६० हजार अंक पार गरेपछि शुक्रवार त्यहाँ नयाँ उत्साह देखिएको छ । त्यस्तै, नेशनल स्टक एक्सचेन्ज (निफ्टी)मा शुक्रवार २५ विन्दुले वृद्धि हुँदै १७ हजार ८४७ अंकमा पुगेर बन्द भएको छ ।
करिब ४१ वर्षअघि १ सय लाई आधार अंक मानेर सुरु गरिएको भारतीय शेयर बजार सन् २०१४ मा हालका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व सम्हाल्दा मात्र २५ हजार अंकमा थियो । अहिले सात वर्ष नपुग्दै त्यो बढेर ६० हजार माथि पुगेको हो ।
सन् २०१३ जनवरी १८ मा बीएसई इन्डेक्स २० हजार हुँदा यस्तैगरि नयाँ खुसी देखिएको थियो । तर, डेढ वर्षमै त्यो २५ हजारमा पुग्यो । त्यो रफ्तार जारी रहँदै अहिले ६० हजार पुगेको हो ।
नरेन्द्र मोदीले भारतको सत्ता समालेयता अन्य आर्थिक परिसूचक पनि धेरै नै सकारात्मक देखिएका छन् । पूर्वाधार विकास र कृषिमा राज्यले गरेको लगानी लगायतले शेयर बजारलाई निकै दर्बिलो टेवा दिइरहेको छ ।
तर, शुक्रवार ६० हजार एक सय अंकमा त्यहाँको इन्डेक्स पुग्नुमा चाहिँ मोदीले हाल गरिरहेको अमेरिकाको भ्रमण नै जिम्मेवार मानिन्छ । उनले त्यहाँ ठुला पाँच कम्पनीका सिईओहरुलाई भेटेर भारतमा लगानी गर्न आह्वान गरेपछि त्यसको प्रत्यक्ष प्रभाव भारतको शेयर बजारमा देखिएको हो ।
प्रतिक्रिया दिनुहोस