
काठमाडौं । ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सले साउन १४ गते एकैदिन विशेष साधारण सभा बोलाएका छन् । ग्लोबलले हाथवे फाइनान्सलाई एक्वायर गर्ने मुख्य प्रस्ताव पारित गर्न दुवैले सभा बोलाएका हुन् । साथै, सभाले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको १०० बराबर ४२ को शेयर स्वाप अनुपात स्वीकृत गर्ने मुख्य विशेष प्रस्ताव रहेको छ ।
ग्लोबल आइएमईले विशेष साधारण सभा साउन १४ गते मंगलबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बोलाएको छ । त्यस्तै, सोही समयमा हाथवे फाइनान्सले होटल द रत्न इन, धरानमा विशेष साधारण सभा गर्नेछ । यी दुई कम्पनीले फागुन ३० गते सहमतिपत्रमा हस्ताक्षर गरी एक्विजिसन प्रक्रिया अघि बढाइसकेका छन् । सहमतिपत्रमा हस्ताक्षर भएसँगै हाथवेको सेयर कारोबार पनि रोक्का रहेको छ ।
हाथवे राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो । यसले राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकेको छैन । हाल यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ मात्र छ । फाइनान्सले यसअघि १८० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । तर एक्विजिसन प्रक्रियामा गएका कारण उक्त निर्णय खारेज गरिसकेको छ । ग्लोबल आइएमईको भने चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस