aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्थानियमा विक्री गरेको मध्य भोटेकोशी जलविद्युतको आईपीओ सोमवार बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
स्थानियमा विक्री गरेको मध्य भोटेकोशी जलविद्युतको आईपीओ सोमवार बाँडफाँट हुदैं

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शनिवारनै प्रि अलोटमेण्ट सम्पन्न गरी सोमवार विहान ९ बजे आईपीओ बाँडफाँट गर्न लागिएको जानकारी दिएको हो । 

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । 

यस अघि बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निशेधाज्ञा भएपछि बैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गरेको हो । 

कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानियबाट यो आईपीओ खरिदका लागि १ लाख १ हजार २८ जनाबाट रू. १ अर्ब ९३ करोड २५ लाख ७८ हजार बराबरको १ करोड ९३ लाख २५ हजार ७८० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । 

आयोजना प्रभावित १० हजार ८४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४९६ कित्ताको लागि र अन्य जिल्लाबासीहरु ९० हजा १८० आवेदकहरुबाट १ करोड ६६ लाख ५० हजार २८४ कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो । जुन मागभन्दा ३ दशमलव २२ गुणा बढी हुन आउछ । 

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गर्न लागेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस