aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युत कम्पनीलाई सर्त राखेर २ सय प्रतिशतसम्म हकप्रद निष्कासन गर्ने अनुमति (विस्तृत विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
विद्युत कम्पनीलाई सर्त राखेर २ सय प्रतिशतसम्म हकप्रद निष्कासन गर्ने अनुमति (विस्तृत विवरणसहित)

काठमाडौं ।  जलविद्युत कम्पनीले १ः२ को रेसियोमा हकप्रद जारी गर्ने सक्ने भएका छन् । विद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गरेको हो । हकप्रद शेयर निष्कासन गर्दा आवेदन दिँदा सहायक कम्पनीमा रहेन मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत शेयर कायम रहने हो सोको विवरण समेत पेश गर्न पर्ने व्यवस्था गरेको छ । 

साथै मुख्य कम्पनीले सहायक कम्पनीको चुक्तापुँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश आफू हुने पर्ने सर्त राखेको छ । त्यस्तै, कम्पनीले आयोजना निर्माणका लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट हकप्रद शेयरको सम्बन्धमा सहमति लिन पर्ने छ । 

निर्देशिकामा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, जलविद्युत कम्पनीहरुले साधारण शेयर आइपीओ निष्कासनका लागि तीन आर्थिक वर्षको वित्तीय विवरण, चालू आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण, प्रस्तावित शेयर निष्कासनबाट प्राप्त हुने रकमको विवरण समेत आयोगमा पेश गर्न पर्ने छ । साथै आगामी पाँच वर्षको आर्थिक वर्षको तालिकाबछ रुपमा वित्तीय विवरण प्रक्षेपण तथा सम्पादन गरिने कार्यको विवरण समेत पेश गर्न पर्ने छ । 

अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेका वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर बिक्री गर्न सक्ने भएको तर त्यसरी हकप्रद शेयर बिक्री गर्दा आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्नेछ । निर्देशिकाअनुसार हकप्रद शेयरको निष्कासनका लागि आवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत हेयर कायम रहने हो, त्यससम्बन्धी विवरणसमेत भर्नुपर्नेछ ।

यसअघि शेयर बिक्री गरिसकेको जलविद्युत् कम्पनीले ५१ प्रतिशत वा सोभन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । यस्ता आयोजनामा बढीमा २०० प्रतिशतसम्म वा कायम रहेको पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएका कम्पनीमा बढीमा आफ्नो पूँजी बजार अथवा १ बराबर १ को अनुपातसम्म मात्र हकप्रद निष्कासन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको हुनुपर्ने नयाँ व्यवस्था निर्देशिकामा छ । 

मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्नेछ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको र आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनुपर्नेछ । त्यस्तै मुख्य जलविद्युत् कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचीकृत भएको कम्पनी हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

साधारण शेयर निष्कासन गरिसकेको हाइड्रोपावर कम्पनीले विविध कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्थासमेत निर्देशिकामा छ । तर यसका लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्नेछ । 

आयोगले काबुबाहिरको स्थिति भनेर दैवी प्रकोप वा प्राकृतिक विपत्ति, कुनै महामारी रोग फैलिएको अवस्था र लडाइँ, द्वन्द्व, नाकाबन्दीजस्ता कारणले विध्वशात्मक कार्यको कारण निर्माण सम्पन्न हुन नसकेको हुनुपर्नेछ । निर्माणलागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि हकप्रद शेयर निष्कासन गर्न सक्नेछ । काबुबाहिरको कारणले निर्माण सम्पन्न हुन नसकेको अवस्थामा हकप्रद निष्कासन गर्दा आयोजनाको भौतिक प्रगति कम्तीमा ८० प्रतिशत भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस