
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ५७५ को आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२३ तोकेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । समायोजनपछि शेयर खरिद गर्ने लगानीकर्ताहरुले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् ।
असोज १० गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सभाका लागि गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ भने हकप्रद शेयर भने साधारण सभाबाट पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस