
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि सोमवार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् ।
त्यस्तै आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्यबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।
यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरुमध्य आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । यी मध्य ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो । यस अघि बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निशेधाज्ञा भएपछि बैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गरेको थियो ।
सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस