aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घट्यो जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
घट्यो जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुरुदेखि नै चलायमान हुन नसक्दा बीमा सम्बन्धी कारोबारमा समेत त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । आर्थिक वर्षको पहिला दुई  महिनामा सरकारी खर्च हुने सकेन् । त्यसैले बीमा कम्पनीहरुले पनि अपेक्षाकृत बीमालेख रकम संकलन गर्न सकेनन् ।  

बीमा समितिका अनुसार साउनको तुलनामा भदौमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ५ अर्ब ५ करोड रुपैयाँले घटेको छ । यसरी दुई महिनामा जम्मा जीवन बीमा कम्पनीहरुले २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । 

साउन महिनामा १६ अर्ब ६० करोड संकलन गरेका जीवन बीमा कम्पनीहरुले भदौ महिनामा ११ अर्ब ५५ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गर्न सके । यसमा बीमा समितिले असार मसान्तमा जारी गरेको उधारो बीमा पोलिसी बिक्री नगर्नु भन्ने निर्देशन पनि जिम्मेवार रहेको देखिन्छ । 

साउन महिनामा बजारमा नगद प्रवाह नहुँदा समेत कसरी भदौको भन्दा बढी बीमाशुल्क आर्जन गर्न जीवन बीमा कम्पनीहरु सफल भए भन्ने विषयलाई केलाउँदा बीमा कम्पनीहरुलाई असार ३१ मा अनिवार्यरुपमा खाता बन्द गर्न बीमा समितिले दिएको निर्देशन कारक रहेको निश्कर्ष निकाल्न सकिन्छ । त्यो बेला बीमालेख जारी गर्न नभ्याएकाहरुले साउनमा जारी गरेका कारण यस्तो देखिएको हो । 

कुन कम्पनीले गरे कति संकलन ? 
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले ७ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै भने २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थाले दुई महिनामै ४ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । भदौ महिनामा मात्रै भने संस्थानको बीमा शुल्क आर्जन ६० करोड रुपैयाँ मात्रै छ ।

बीमा शुल्क आर्जनको हिसावले तेस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । यस कम्पनीले भदौ महिनामा २ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसले चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा तीन अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । 

त्यसपछिको नम्बरमा भने नेशनल लाइफ देखिएको छ । जसले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । जसले भाद्र महिनामा साउनको भन्दा केहि कम १ अर्ब ८ करोड बीमाशुल्क आर्जन गरेको छ । 

त्यसैगरि, बीमा शुल्क आर्जनका हिसावले युनियन लाइफ पाँचौ नम्बरमा रहेको छ । यसले पनि भदौ महिनामा साउन महिनाको भन्दा ६० करोड मात्रै बीमा शुल्क संकलग गरेको देखिन्छ । जसको दुई महिनाको बीमा शुल्क एक अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार बीमा शुल्क संकलनमा दुई महिनामा अर्ब माथी संकलन गर्ने अर्को कम्पनी हो, एशियन लाइफ ।  भदौ मसान्तसम्ममा एक अर्ब ५ करोड बीमा शुल्क संकलन गरेको छ । यसले पनि अघिल्लो महिनाको भन्दा भदौ महिनामा कम अर्थात मात्र ४१ करोड बीमाशुल्क संकलन गरेको देखिएको छ । 

अन्य जीवन बीमा कम्पनीहरुले भने दुई महिनामा अर्बमा बीमा शुल्क आर्जन गर्न नसकेको देखिन्छ । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्ब भन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीहरु सिटिजन लाइफ ९६ करोड, मेट लाइफ ९३ करोड, सूर्या लाइफ ८३ करोड, प्राइम लाइफ ७८ करोड, रिलायबल नेपाल लाइफ ६६ करोड रुपैयाँ, गुराँस लाइफ ६४ करोड, सन नेपाल लाइफ ६० करोड, आइएमई लाइफ ५९ करोड, ज्योति लाइफ ५५ करोड, रिलायन्स लाइफ ५१ करोड, प्रभु लाइफ ४५ करोड, सानिमा लाइफ ३२ करोड र महालक्ष्मी लाइफले २० करोड रुपैयाँ आर्जन गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस