aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मध्य भोटेकोशी जलविद्युतले असोज २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
मध्य भोटेकोशी जलविद्युतले असोज २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य रू. १०० दरको ९० लाख कित्ता आईपीओमध्ये ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । 

कुल कित्ता मध्य ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । यो शेयर विक्रीको लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्मको मिति तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ । 

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । 

सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणाम्त्मक छ ।
 

प्रतिक्रिया दिनुहोस