aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचआईडिसिएलको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
एचआईडिसिएलको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ७ गतेदेखि लिलामीमा आएको हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि वितरण हुन नसकेको संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीको संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको शेयर खरिदका लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि कुनै हद तोकिएको छैन् । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्रि गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको थियो । उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी शेयर खरिदका लागि संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ करोड कित्ताको हद राखिएकोमा लगानीकर्ताहरुबाट सर्वत्र विरोध भैरहेको छ । कम्पनीले साना लगानीकर्ताहरुको पहुँच नपुग्ने गरी ठुला लगानीकर्ताहरुलाई मात्र ध्यानमा राखेर संस्थापक तर्फको शेयरमा न्यूनतम कित्ताको अधिकतम हद राखिएको आरोप लगानीकर्ताहरुको छ ।
 

प्रतिक्रिया दिनुहोस