
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १ करोड ८ लाख ६० हजार रुपैयाँ कित्ता हकप्रद शेयर विक्री गर्न विद्युत नियमक आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत नियमन आयोजको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।
कम्पनीको भदौ २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।
कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत नियमन आयोगले कम्पनीका २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँको अधाारमा उक्त अनुपातमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो । आयोगले पूर्व स्वीकृति दिदैं विभिन्न ६ शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सो समेत समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ । त्यस्तै ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्त समेत राखेको छ ।
आयोगबाट जारी भएको मापदण्ड , संहित तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गर्न , हकप्रद शेयरको निष्कासन विवरणपत्रमा प्रकाशन गरिने विवरणहरुमा धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिमका विवरणहरुको अतिरित्त आयोजना सम्बन्धी आय विवरण उल्लेख भएको १२ महिनाको तालिका समेत समावेश गर्न आयोगले भनेको छ । साथै आयोजना सम्पन्न भएपछि सोको कुल लागत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने शर्त पनि रहेको छ ।
अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत ७ अर्ब ४० करोडमध्य २ अर्ब २२ करोड रुपैयाँ शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस