aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साहस उर्जाको आईपीओ प्रि-अलोटमेण्ट शुक्रवार सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
साहस उर्जाको आईपीओ प्रि-अलोटमेण्ट शुक्रवार सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । साहस उर्जा लिमिटेडकोे आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो । बोर्डको स्वीकृति प्राप्त भए आइतवार आईपीओ बाँडफाँट गरिने जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । 

कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओ खरिदका लागि २४ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि आईपीओ वितरण गरिसकेको छ । 

कम्पनीले साउन २९ गते देखि भदौ ११ गते सम्म आयोजना प्रभावितमा आईपीओ विक्री गरी भदौ २८ गते बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३५ लाख कित्ता शेयर बाँडफाँट गरेको हो हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४५ करोड रहेको छ । आयोजना प्रभावित स्थानिय र सर्वसाधारणतर्फको आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविवद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत रू. ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । हाल आयोजनाको ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस