
काठमाडौं । साहस उर्जा लिमिटेडकोे आईपीओ आइतवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीको आईपीओ खरिदका लागि कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरुमध्य २३ लाख ८३ हजार ४६० जनाको मात्र आवेदन रितपूर्वक देखिएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले ७० करोड बरावरको ७० लाख रुपैयाँ कित्ता आइपीओ सर्वसाधारणमा वितरण गरेको हो । कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरी बाँडफाँट गरेको हो ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि आईपीओ वितरण गरिसकेको छ । कम्पनीले साउन २९ गते देखि भदौ ११ गते सम्म आयोजना प्रभावितमा आईपीओ विक्री गरी भदौ २८ गते बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३५ लाख कित्ता शेयर बाँडफाँट गरेको हो हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानिय र सर्वसाधारणतर्फको आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविवद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत ११ अर्ब ८६ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । हाल आयोजनाको ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस