
काठमाडौं । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार मंगलवारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो ।
कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ ।
सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस