
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा शुक्रवार विहान बाँडफाँट हुने भएको छ । असोज २० गतेनै प्रि अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे अन्तिम बाँडफाँट गर्न लागिएको हो ।
कम्पनीको आईपीओ खरिदका लागि २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको खरिदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले स्थानिय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।
कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।
प्रतिक्रिया दिनुहोस