aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

करिब २४ लाखले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असोज २०७८
करिब २४ लाखले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा २३ लाख ९३ हजार ४२८ जनाको आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म यी आवेदकहरुबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो । जुन मागभन्दा ४ दशमलव २० गुणा बढी आवेदन हुन आउँछ । 

कम्पनीले प्रति कित्ता अंकित मूल्य रू. १०० दरको ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । कुल कित्ता मध्य ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले सर्वसाधारणमा विक्री गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणात्मक छ ।
 

प्रतिक्रिया दिनुहोस