
दमौली। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ ।
आयोजनाको तीन वटै प्याकेजका काम दसंैमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । “तीन वटै प्याकेजको काम दसैंमा रोकिएका छैनन्, कामहरु निरन्तर भइरहेका छन्”, उनले भने ।
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ । हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित दुई सय १५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् । “दसैं अगाडि पाँच सय कामदार थिए, ग्याविन वाल भर्ने, पहुँचको काम गर्नेलाई दसैं बिदा दिइएको छ,” उनले भने , “बाँकी सबै क्याम्पमै बसेर काम गरिरहेका छन् ।”
सिनो हाइड्रोले हालसम्म पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै सुरु गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।
प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ वटा फाउण्डेशनको काम सकिएको छ भने ६ वटा फाउण्डेशनको काम चलिरहेको छ । कूल ९४ मध्ये २० वटा टावरका लागि सामग्री आउने क्रममा रहेको उनले जानकारी दिए । “७४ वटा टावर साइटमा आइसकेको छ, बाँकी २० वटा आउने क्रममा छ”, आयोजना प्रमुख घिमिरेले भने , “सात वटा टावर भने तयार भइसकेको छ ।”
प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत् विकास विभाग पठाइएको उनले जानकारी दिए । प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार पाँच सय दश मुआब्जा निर्धारण भएको छ ।
प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । सो प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । त्यस कामका लागि दसैं आगाडि खटिएका ७५ जना मजदूरलाई दसैं बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस